आईसीटी अवार्डको १०औँ संस्करणका लागि १५ विधामा आवेदन खुला

काठमाडौँ । लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै आएको ‘आईसीटी अवार्ड’ को १०औँ संस्करणका लागि अनलाइन आवेदन खुलेको छ । यस वर्ष १५ विभिन्न विधाको अवार्डका लागि ३१ साउनसम्म आवेदन दिन सकिने छ ।
अवार्ड कार्यक्रममार्फत प्रविधि क्षेत्रका स्टार्टअप, आविष्कार, उत्पादनका साथै सरकारी तथा निजी संस्थाहरूको डिजिटल रूपान्तरणका प्रयासहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ । इच्छुक व्यक्ति वा संस्थाहरूले अवार्डको आधिकारिक वेबसाइट मार्फत आफू वा अन्य उपयुक्त व्यक्ति तथा संस्थालाई मनोनयन गर्न सक्नेछन् ।
दक्षिण एसियाली राष्ट्रका स्टार्टअपहरूलाई समेट्ने गरी ‘साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड’ विधालाई निरन्तरता दिइएको छ । आयोजकका अनुसार, छ महिना लामो छनोट प्रक्रियापछि पुस पहिलो साता काठमाडौँमा अवार्ड वितरण गरिनेछ ।
अवार्डको निष्पक्षता र उत्कृष्टता कायम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका २० जना विज्ञ निर्णायक (जुरी) सदस्य र १२ जनाभन्दा बढीको सम्मानित सल्लाहकार समिति गठन गरिने आयोजकले जनाएको छ ।
१५ विधामा आवेदन खुला
१. स्टार्टअप आईसीटी अवार्ड २०२५
आईटी प्रडक्ट, सर्भिस तथा इनोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानुनअनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत ५ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् ।
२. प्रडक्ट आईसीटी अवार्ड २०२५
आईसीटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह वा व्यक्तिले विकास गरेको आईटी तथा इन्नोभेटिभ प्रडक्टलाई नोमिनेसन दर्ता गराउन सकिनेछ । वि.सं. २०८१ सालदेखि २०८२ को असारसम्म सार्वजनिक भएका आईटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेसन दर्ता गर्न सकिन्छ ।
३. राइजिङ स्टार इनोभेसन आईसीटी अवार्ड २०२५
राइजिङ स्टार इनोभेसन आईसीटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका युवाहरूको इन्डस्ट्री प्रोजेक्ट, रिसर्च, आइडिया, इनोभेसन तथा प्रडक्टहरूलाई लिएर नोमिनेसन दर्ता गर्न सकिनेछ ।
४. सोसियल इनोभेसन आईसीटी अवार्ड २०२५
सोसियल इनोभेसन आईसीटी अवार्ड सामाजिक क्षेत्रमा भइरहेका इनोभेसनलाई प्रवर्द्धन गर्नका लागि हो। जुन इनोभेसन तथा डिजिटल इनिसिएटिभ्सले समाज र राष्ट्रका लागि सकारात्मक प्रभाव पारिरहेका छन्, उनीहरूले यसमा आवेदन दिन सक्नेछन्। सरकारी संस्था, विकास साझेदार, सामाजिक संस्थाहरू लगायत उद्यमीहरूले विकास गरेर विगत ५ वर्षदेखि प्रयोगमा ल्याइरहेका इनोभेसनहरूलाई यस विधामा समावेश गरिनेछ ।
५. प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड २०२५
प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड विधामा आईसीटी क्षेत्रसँग सम्बन्धित रहेर कम्तीमा ५ वर्षको अनुभवसँगै आईसीटी क्षेत्रका विभिन्न टेक डोमेनहरूमा पुर्याएको योगदान, विज्ञता र कामको आधारमा सम्मान गरिने यस विधामा जोकोही आईटी प्रोफेसनलले आवेदन दिन सक्नेछन् ।
६. पायोनियर आईसीटी अवार्ड २०२५
यो अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाई प्रदान गरिन्छ। यस विधामा कम्तीमा २० वर्षभन्दा बढीको योगदान र कामको आधारमा आवेदन दिन सकिनेछ ।
७. नेपाली डायस्पोरा आईसीटी अवार्ड २०२५
नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि आईसीटीको माध्यमबाट नेपालको डिजिटल इकोसिस्टम, समाज र राष्ट्रका लागि पुर्याएको योगदानको आधारमा यस विधामा नोमिनेसन दर्ता गर्न सकिनेछ ।
८. आन्टरप्रेनर आईसीटी अवार्ड २०२५
आन्टरप्रेनर आईसीटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ। नोमिनेसनका लागि आईसीटी उद्यमीको रूपमा कम्तीमा ७ वर्षको अनुभव आवश्यक पर्नेछ ।
९. वुमन आइकन आईसीटी अवार्ड २०२५
वुमन आइकन आईसीटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । यस विधामा उद्यमी, नेतृत्वकर्ता, प्रोफेसनल तथा आईसीटीको क्षेत्रमा उदाहरणीय काम गर्नुभएका महिलाहरूले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
१०. डिजिटल गभर्नेन्स आईसीटी अवार्ड २०२५
यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलीकरण गर्दै नागरिकलाई सहज, सरल किसिमले प्रविधिमैत्री सेवा दिन प्रयासरत सरकारी संस्था, प्राधिकरण, विभाग, निकाय वा स्थानीय पालिकाहरूले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
११. डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर) २०२५
डिजिटल एजुकेसन आईसीटी अवार्ड, आईसीटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउँदै शिक्षण सिकाइ तथा व्यवस्थापनमा उदाहरणीय काम गरेका सरकारी तथा सामुदायिक शैक्षिक संस्थाहरूले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
१२. डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर) २०२५
डिजिटल एजुकेसन आईसीटी अवार्ड आईसीटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउँदै शिक्षण सिकाइ तथा व्यवस्थापनमा उदाहरणीय काम गरेका निजी शैक्षिक संस्थाहरूले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
१३. डिजिटल सर्भिसेस आईसीटी अवार्ड २०२५ (इन्टरप्राइज सेक्टर)
यस विधामा निजी क्षेत्रका कर्पोरेट संस्थाहरू, लिमिटेड वा कम्पनीहरूले सर्वसाधारणलाई दिने सेवाहरूको आधारमा अवार्डको नोमिनेसनमा सहभागी हुन सक्नेछन् ।
आफ्नो परम्परागत सेवा प्रणालीलाई आधुनिकीकरण गर्दै प्रविधिमार्फत सेवा दिने लक्ष्यसाथ केन्द्रित रहेका कम्पनी, बैंक तथा वित्तीय संस्थाहरू, अस्पताल तथा स्वास्थ्य केन्द्रहरू, इन्स्योरेन्स, कर्पोरेट लगायतका संस्थाहरूले अवार्डका लागि प्रक्रियामा सहभागी हुन सक्नेछन् ।
१४. डिजिटल सर्भिसेस आईसीटी अवार्ड २०२५ (नियो सेक्टर)
यस विधामा प्रविधिमा आधारित डिजिटल प्लेटफर्म (डिजिटल सिस्टम, एप्लिकेसन, वेबसाइट) मार्फत प्रदान गरिने सेवाहरूले आवेदन दिन सकिनेछ । परम्परागतभन्दा फरक प्रविधिमा आधारित रहेर सर्वसाधारणलाई सेवा प्रदान गर्ने निजी कम्पनी तथा संस्थाहरूले अवार्डको नोमिनेसन प्रक्रियामा सहभागी हुन सक्नेछन् ।
१५. साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२५
यस विधामा दक्षिण एसियाली देशहरू भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान, अफगानिस्तान र नेपालका स्टार्टअपहरूले सहभागिता जनाउन सक्नेछन् । ५ वर्षसम्मका स्टार्टअपहरूले यस विधामा नोमिनेसन दर्ता गर्न सकिनेछ ।
यसका साथै, सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरूलाई सम्मान गर्न ‘प्रोभिन्सियल आईसीटी स्टार्टअप रिकग्निसन’ कार्यक्रम पनि सञ्चालन गरिनेछ ।