प्रधानमन्त्रीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार वितरण, चार जना विशिष्ट व्यक्तित्वहरु सम्मानित
- आहा विशेष पर्यटन/ कला समाज
आहा नेपाल
- साउन ११, २०८२
- 0
- 194
- 2 minutes read
काठमाडौँ, ११ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले आज विपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ अन्तर्गत चार जना विशिष्ट साहित्यिक तथा राजनीतिक स्रष्टाहरूलाई सम्मानित गर्नुभएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित एक विशेष समारोहमा प्रधानमन्त्रीले ४ जना पुरस्कृत श्रष्टाहरुलाई सम्मान प्रदान गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले पुरस्कृत स्रष्टाहरूलाई बधाई दिँदै देशको समृद्धि, विचार र साहित्यको उन्नयनमा योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मान स्वरूप यो पुरस्कार स्थापना गरिएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो: अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिन्छ, तर अधिनायकवाद के हो भन्ने हामीले जेल र हत्कडी भोगेर बुझेका छौं। आज प्रजातन्त्र आएको छ, सजिलो भएको छ, तर त्यसको मार्ग देखाउने विपीहरू थिए।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र कम्युनिस्टहरूले प्रजातान्त्रिक आन्दोलनमा सँगै बलिदान दिएको स्मरण गर्दै, विपी कोइराला र पुष्पलाल श्रेष्ठ जस्ता व्यक्तित्वहरू कुनै एक दलका मात्र नभई देशकै साझा धरोहर भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि पाण्डेले साहित्य, राजनीति, संस्कृति र विचारमा योगदान दिने श्रष्टाहरूको सम्मान गर्नु सरकारको कर्तव्य रहेको बताउँदै, यस्तो पुरस्कार वितरण कार्यलाई अझ व्यवस्थित र विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो।

त्यस्तै, पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विपी कोइरालाको योगदानलाई सम्मान गर्ने कार्यप्रति खुसी व्यक्त गर्दै यस्ता सम्मानले नयाँ पुस्तामा निष्ठावान राजनीतिक चेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो।
विपी पुत्र डा. शशांक कोइरालाले कार्यक्रमप्रति आभार व्यक्त गर्दै, “बिपीको योगदानलाई जीवित राख्न यस्ता कार्यक्रम महत्वपूर्ण छन्,” भन्नुभयो।
कार्यक्रममा नयनसिंह कडायत (अछाम), मीना सुब्बा (सुनसरी) तिलविक्रम नेम्वाङ (वैरागी काइँला) र भुवन ढुंगाना कोइराला (मोरङ) लाई जनही १ लाख रुपैयाँ राशिसहित पुरस्कार प्रदान गरिएको हो।
यस पुरस्कारको सुरुवात नेपाल सरकारले आर्थिक वर्ष २०७७|७८ को नीति तथा कार्यक्रममार्फत गर्दै २०७८ सालदेखि वितरण गर्न थालेको हो। यसको उद्देश्य विपी कोइरालाको राजनीतिक र साहित्यिक योगदानलाई दीर्घकालीन स्मरणमा राख्नु र राष्ट्रिय चेतनाको प्रवर्द्धन गर्नु हो।
