खुसीको खबर, बुटवल-नारायणगढ सडक : दाउन्ने बाहेकको क्षेत्रमा कालोपत्रे

बुटवल । बुटवल–नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत दाउन्ने बाहेकको क्षेत्रमा कालोपत्रे काम सम्पन्न भइसकेको छ ।
आयोजनाका अनुसार दाउन्ने बाहेक ११३ किलोमिटर सडकमध्ये ९९ किलोमिटरमा कालोपत्रे र ढलानको काम सकिएको छ। यसले वर्षौंदेखि धुलो, हिलो र अवरोधको समस्या झेलिरहेका यात्रुहरूलाई राहत दिएको छ।
आयोजनामा साना कल्भर्ट निर्माण सकिए पनि ठूला पुल निर्माण कार्य केही बाँकी छ। दाउन्ने खण्ड भने अझै पनि यात्रुका लागि चुनौती बनेको छ।
तर, दाउन्ने खण्डको १४ किलोमिटरमा सामान्य वर्षामा समेत सवारी चिप्लिने र घण्टौं जाम हुने समस्या कायम छ।
२०७५ चैतमा सुरू भई ४४ महिनामा सम्पन्न हुने लक्ष्य रहेको आयोजनाको ७० प्रतिशत मात्र काम सकिएको छ।
चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले दुई खण्डमा पर्ने ११४ किलोमिटर सडक विस्तारको ठेक्का १७ अर्ब रुपैयाँमा लिएको थियो।
दाउन्ने खण्डमा विशेषगरी विश्वकर्मा मन्दिर र पैसी मोड क्षेत्रमा सबभन्दा बढी समस्या देखिएको छ, जहाँ सडक सुधारका काम अपूरा छन् र यातायातमा अझै केही कठिनाइ कायम छ।
यस क्षेत्रको समस्या समाधानका लागि र कार्य जतिसक्दो छिटो गराउनका लागि केन्द्रीय नेतृत्व देखी स्थानिय नेतृत्वले समेत पहल गरिरहेको छ ।