खाद्य सुरक्षाका लागि पारिवारिक खेतीमा जोड

 खाद्य सुरक्षाका लागि पारिवारिक खेतीमा जोड

काठमाडौं, २७ साउन । खाद्य सुरक्षाका लागि पारिवारिक खेतीलाई प्रवद्र्धन गर्नुपर्नेमा किसान, जनप्रनिधि र कृषि विज्ञहरुले जोड दिएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि तथा खाद्य संगठन (एफएओ) नेपाल कृषि सहकारी केन्द्रिय सहकारी संघकालगायत साझेदार संस्थाहरुको संयुक्त आयोजनामा मगलबार ललितपुरमा आयोजित पारिवारिक खेती सम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठीमा उनीहरुले यस्तो जोड दिएका हुन् ।

कार्यक्रम उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधनमात्र नभई सम्मानजनक, नाफामूलक र दीगो पेशा बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

करिब ६० प्रतिशत जनसंख्या प्रत्यक्ष कृषि व्यवसायमा संलग्न रहेको र ०.६ हेक्टर प्रतिकृषक परिवार औसत जोत जमिन भएको नेपाल जस्तो देशमा पारिवारिक खेती केवल आर्थिक गतिविधिमात्र नभई संस्कृति, परम्परा र खाद्य सुरक्षा सुनिश्चित गर्ने प्रमुख आधारसमेत रहेको उहाँको भनाइ थियो ।

कृषि क्षेत्रमा काम गर्दै आएका नमूना कृषि सहकारी, एकीकृत कृषि प्रणाली र किसान–प्रेरित नवप्रवर्तनकारी कार्यहरुले ग्रामीण कृषि उत्पादन र कृषकको आम्दानी दुवैमा सुधार गरेको उल्लेख गर्दै मन्त्री अधिकारीले साना किसानदेखि मध्यमस्तरका कृषकसम्म समावेश रहने परिवारिक खेती विकसित र विकासोन्मुख देशमा कृषिको प्रमुख स्वरुप रहँदै आएको बताउनुभयो ।

ग्रामीण रूपान्तरणको प्रमुख घटक रहेको पारिवारिक खेती प्रणालीलाई जलवायु परिवर्तनले चुनौती थपिदिएको भन्दै मन्त्री अधिकारीले चुनौती सामना गर्न सबै क्षेत्रको सामूहिक प्रयास आवश्यक भएको बताउनुभयो ।

सिंचाइ विस्तार, कोल्ड स्टोरेज पूर्वाधार निर्माण र मूल्य श्रृखंला विकासमा लक्षित लगानीलाई प्राथमिकतामा राखी सरकारले काम गरिरहेको पनि उहाँले जानकारी गराउनुभयो ।

उल्लेखित कृषि पूर्वाधार विकासले किसानको मेहनत र उत्पादन सहजै बजारसम्म पहँुच बनाई आयआर्जनमा बृद्धि गर्न सहयोग मन्त्री अधिकारीको भनाइ थियो ।

पछिल्ला वर्षमा विभिन्न खालका प्रकोपका कारण कृषि क्षेत्रमा ठूलो क्षति पूगेकाले क्षति न्यूनीकरणका लागि जलवायु अनुकूलनका उपायमा जोड दिनुपर्ने पनि उहाँले बताउनुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो‘त्यसैले हामीले जलवायु–मैत्री कृषि, दीगो पशुपालन व्यवस्थापन र आधुनिक प्रविधि प्रयोग प्रवद्र्धन गर्ने प्रमुख राष्ट्रिय कार्यक्रमहरू कार्यान्वयन गरिरहेका छौं ।’

कार्यक्रममा एफएओका कन्ट्री रिप्रीजेन्टेटिभ केन मिसिजुले सानो सानो कृषि प्रणालीलार्य दिगोपनासंग जोड्दै यसमा नविनता थप्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको परिवेश पारिवारीक खेतीका लागि अत्यन्तै उपयोगी रहेको भन्दै यसमा काम गरिरहेका साना किसानहरुलाई सहयोग गर्न सके खाद्य सुरक्षा र दिगोपनामा ठूलो योगदान हुने धारणा राख्नुभयो ।

नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेमबहादुर पाठकले खाद्य सुरक्षामा साना किसानले महत्वपूर्ण योगदान योगदान पु¥याउँदै आएको उल्लेख गर्दै साना किसानले पारिवारिक खेती प्राणालीलाई बचाएको बताउनुभयो ।

सरकार तथा अन्य सरोकारवाला निकायहरुसँगको सहकार्यमा नेपाल कृषि सहकारीले पारिवारिक खेती प्रवद्र्धनका लागि काम गदै आएपनि अझै धेरै गर्न बाँकी रहेको र त्यसका लागि सामूहिक पहल प्रयास आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

कृषि मन्त्रालयका सहसचिव डा हरिबहादुर केसीले नेपालको कृषि वर्षौदेखि पारिवारिक प्रणालीबाटै अघि बढ्दै आएको बताउनुभयो ।

तथापी पछिल्लो समय वैदेशिक रोजगार, जलवायु परिवर्तन र अन्य प्राकृतिक वित्तीयलगायतका कारण पारिवारिक खेती प्रणालीमा विचलन आइरहेको बताउनुभयो ।

कार्यक्रममा कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापा, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डन, मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्मा, एफएओका प्रतिनिधी केन सिमिजुलगायतले पनि पारिवारिक खेती प्रवद्र्धनमा जोड दिएका थिए ।

तीन दिनसम्म चल्ने कार्यशालामा अन्तर्राष्ट्रिय एवं क्षेत्रीय स्तरका कृषि क्षेत्रका नेतृत्व, नीतिनिर्माता, विज्ञ तथा विकास साझेदार संस्थाहरूको सहभागिता रहेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *