राष्ट्रिय स्वाभिमानमा सम्झौता नहोस् : परराष्ट्र विज्ञहरूको आग्रह

 राष्ट्रिय स्वाभिमानमा सम्झौता नहोस् : परराष्ट्र विज्ञहरूको आग्रह

काठमाडौँ, भदौ १६ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा वैदेशिक मामिलाका जानकार डा. राजन भट्टराईले सीमा विवादका विषयमा कुनै पनि हालतमा सम्झौता गर्न नहुने धारणा व्यक्त गर्नुभएको छ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे परराष्ट्रविद्हरूसँग अन्तसंवाद’ कार्यक्रममा बोल्दै उहाँले अघिल्ला पुस्ताले ज्यान दिएर जोगाएको भूमि आजका पुस्ताले अडानका साथ सुरक्षित राख्नुपर्नेमा जोड दिनुभयो।
“अघिल्लो पुस्ताले ज्यान दिएर जोगाए, आज त अडान लिँदा पुग्छ। देश जोगाउन सबैले एकताबद्ध प्रयास गर्नुपर्छ,” उहाँको भनाइ थियो।

डा. भट्टराईले लिपुलेक लगायतका भूभागमा नेपालको दाबी कदापि छाड्न नहुने स्पष्ट अडान राख्दै भारत–चीनबीच भएको सहमतिअनुसार लिपुलेकलाई व्यापारिक नाका बनाउन गरिएको निर्णय नेपाललाई अस्वीकार्य भएको उल्लेख गर्नुभयो।

चीनले पनि नेपालको चासोलाई बेवास्ता गर्न नहुने बताउँदै उहाँले सीमा विवादको स्थायी समाधान कूटनीतिक संवादबाट मात्रै सम्भव हुने स्पष्ट पार्नुभयो।

उहाँले राष्ट्रिय स्वाभिमानका सवालमा कुनै सम्झौता गर्न नहुने र यस्ता मुद्दामा सबै राजनीतिक दल, बौद्धिक समुदाय र नागरिक समाजबीच साझा दृष्टिकोण बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाल–भारत सीमा अध्ययन समितिका संयोजक डा. विष्णु उप्रेतीले लिपुलेक क्षेत्र ऐतिहासिक रूपमा नेपालको भूमि भएको पर्याप्त प्रमाण रहेको उल्लेख गर्दै ठूला छिमेकीहरूले साना मुलुकलाई हेपाहा व्यवहार गर्न नमिल्ने धारणा राख्नुभयो।

त्यस्तै सीमा विज्ञ डा. बुद्धिनारायण श्रेष्ठले प्रमाणसहित नेपालले निरन्तर दाबीलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार सीमा विवाद केवल दुई देशबीचको कूटनीतिक समस्या मात्र नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषय हो।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहभागी विज्ञ र परराष्ट्रविद्हरूले प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा राख्नुभएको लिपुलेकबारेको स्पष्ट अडानलाई स्वागत गर्दै नेपालले आफ्ना हित र सार्वभौमसत्ता जोगाउन अडानमा निरन्तरता दिनुपर्ने निष्कर्ष प्रस्तुत गरेका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *