नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु
काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा सुरु भएको छ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको औपचारिक उद्घाटन गर्दै यसलाई पार्टीलाई बलियो र अनुशासित बनाउने ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्नुभयो। तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरका करिब २ हजार ३ सय ४१ प्रतिनिधि सहभागी भएका छन्।
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।
यस्तै, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषद्का प्रमुखहरूले आ–आफ्ना प्रतिवेदन पेश गर्नेछन्।
शनिबार १० वटा समूहमा विभाजन गरी ती प्रतिवेदन तथा प्रस्तावहरूमा गहन छलफल गर्ने र आइतबार निष्कर्षसहित महाधिवेशन समापन गर्ने तयारी छ।
यसपटकको विधान महाधिवेशनले पार्टीको नीति–दिशा, संगठनात्मक संरचना र आन्तरिक व्यवस्थापनमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता विवादलाई प्रवेशमै रोकिएको छ भने नेता कर्ण थापाले प्रस्तुत गरेको असहमतिको प्रस्तावलाई पनि औपचारिक छलफलमा समावेश गरिनेछ।
पार्टीले विधान संशोधनमार्फत संगठनलाई अझ प्रभावकारी बनाउन, अनुशासनलाई कडाइका साथ कार्यान्वयन गर्न र नयाँ राजनीतिक चुनौतीहरूको सामना गर्ने रणनीति तय गर्ने संकेत दिएको छ।
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। 