लिपुलेकबारे चीनसँग कुरा गरेजस्तै भारतसँग पनि संवाद गर्छु: प्रधानमन्त्री ओली

 लिपुलेकबारे चीनसँग कुरा गरेजस्तै भारतसँग पनि संवाद गर्छु: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक विषयमा चीनसँग गरिएको छलफलको भिडियो सार्वजनिक गर्दै भारतसँग पनि त्यसरी नै उच्चस्तरीय संवाद गर्ने घोषणा गरेका छन्।

हालै चीन भ्रमणका क्रममा टियानजिनमा राष्ट्रपति सी जिनपिङसँगको भेटमा प्रधानमन्त्री ओलीले लिपुलेक नेपालकै सार्वभौमिक भूभाग भएको प्रष्ट रूपमा प्रस्तुत गरेका थिए।

उनले भारत–चीनबीच नेपाललाई बिना जानकारी गरिएको सहमति आपत्तिजनक भएको उल्लेख गर्दै यसले नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकतामाथि प्रश्न उठाएको बताएका छन्।

ओलीले चीनसँगको भेटमा नेपालको अडान र असहमति स्पस्ट रूपमा अभिव्यक्त गरे पनि, चीनले यो विवाद नेपाल र भारतबीचको विषय भएको जवाफ दिएको थियो।

प्रधानमन्त्री ओलीले संसद्को विश्वाससहित भारतसँग पनि औपचारिक संवाद गर्ने संकेत दिएका छन्। संसद्को समर्थनलाई आधार बनाएर उनले नेपालको भूमिसम्बन्धी विषयमा भारतसँग कूटनीतिक तरिकाले गम्भीर छलफल अघि बढाइने बताएका छन्।

प्रधानमन्त्री सचिवालयद्वारा सार्वजनिक गरिएको भिडियोमा ओलीले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हित कुनै हालतमा सम्झौता गर्न नसकिने स्पष्ट सन्देश दिएको देखिन्छ।

लिपुलेकलाई नेपालले आफ्नो प्राचीन नक्शा, ऐतिहासिक सन्दर्भ र विभिन्न तथ्यहरूमार्फत आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ।

यसअघि नेपाल सरकारले २०७७ सालमा नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आधिकारिक रूपमा नेपालको भूभागका रूपमा उल्लेख गरेको थियो।

तर भारतले नेपालले दाबी गरेको क्षेत्रलाई आफ्नो मान्दै त्यहाँ सडक निर्माणसहित गतिविधि गर्दै आएको छ, जसलाई नेपालले निरन्तर आपत्ति जनाउँदै आएको छ।

यसबीचमा, प्रधानमन्त्री ओलीले आफ्नो सरकार कुनै पनि दबाब वा सम्झौतामा नरम नपर्ने उल्लेख गर्दै राष्ट्रिय स्वाभिमानका मुद्दामा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

उनले लिपुलेक प्रकरणलाई केवल सिमाना विवाद नभई नेपालको सार्वभौमिकता र राष्ट्रिय अस्तित्वसँग जोडिएको मुद्दा भएको बताए।

राजनीतिक विश्लेषकहरूले प्रधानमन्त्रीको यो अडानलाई कूटनीतिक दृष्टिले साहसी कदमको रूपमा लिएका छन्, तर चीनले यसलाई नेपाल–भारतबीचको विषय भन्दै स्पष्ट समर्थन नजनाएको घटनाले नेपालका लागि चुनौती अझै कायम रहेको देखिएको छ।

यसरी, प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको भिडियोले नेपालले आफ्नो भूमिमाथि कसैसँग सम्झौता नगर्ने स्पष्ट संकेत दिएको छ र निकट भविष्यमा भारतसँग पनि ठोस वार्ता हुने सम्भावना देखाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *