कृषि विकास बैंकद्वारा सातदोबाटो प्रहरी बिटलाई प्राविधिक उपकरण सहयोग

काठमाडौं, बिहीबार – कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सातदोबाटो प्रहरी बिटलाई प्राविधिक उपकरणहरू प्रदान गरेको छ।
कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रबन्धक सुशील हुमागाँई, विभागीय प्रमुख बीना शर्मा, वाग्मती प्रदेश निर्देशक चन्द्र बहादुर थापा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, प्रबन्धक बलिराम पुर्वे, युनियनका अध्यक्ष तथा महासचिवसहित अन्य कर्मचारीहरू उपस्थित थिए।
बैंकले युपिएस (UPS), इनभर्टर र ब्याट्री हस्तान्तरण गर्दै प्रहरी सेवा प्रवाहलाई पुनः सुचारू, सहज र भरपर्दो बनाउन सहयोग गरेको हो।
त्यसैगरी, समाजसेवी तथा हास्य कलाकार किरण केसी (राता मकै), अन्य समाजसेवीहरू र प्रहरी नायब उपरीक्षकसहित प्रहरी कर्मचारीहरूले समेत कार्यक्रममा सहभागिता जनाए।
बैंकले यस पहलमार्फत सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै सुरक्षा निकायको सेवा प्रवाहमा प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्य राखेको जनाएको छ। सहभागीहरूले प्रहरी प्रशासनको पुनःस्थापना र जनसेवाको निरन्तरताका लागि यस्ता सहकार्य अत्यन्तै उपयोगी हुने धारणा व्यक्त गरेका थिए।