गोदावरी पुष्प मेला २०८२ सम्पन्न, पाँच दिनमा १ करोड ३३ लाखको कारोबार

 गोदावरी पुष्प मेला २०८२ सम्पन्न, पाँच दिनमा १ करोड ३३ लाखको कारोबार

काठमाडौँ, २ कार्तिक । ललितपुरको जावलाखेल मैदानमा जारी १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ आइतवार सम्पन्न भएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा सम्पन्न पाँच दिने मेलामा विभिन्न स्टलबाट १ करोड ३३ लाख बढीको कारोबार भएको छ ।

तिहार आउनु अगाडि वर्षनी गोदावरी फुल मेला हुँदै आएको छ । मेलाको अन्तिम दिन आइतबारमात्र साढे २८ लाखको कारोबार भएको मेलाका संयोजक सुमन महर्जनले जानकारी दिए ।

पाँच दिनमा कुल ३९ हजार बढीले मेलाको अवलोकन गरेको उनले बताए । मेलामा बिशेष गरि गोदावरी, सयपत्रीको लगायत सिजनेवल फूल तथा बोटबिरुवाहरुको कारोबार बढी गरिएको बताउँदै फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले फूल पारखीहरुको संख्या बढ्दै गएको बताए ।

वर्षेनी गर्ने मेलाका कारण व्यवसायी र उपभोक्ताबिच थप समन्बन्ध विस्तार भै फार्म र पसलहरुमा उपभोक्ताहरु बढ्दै गएको अनुभव व्यवसायीहरुको छ ।

आर्थिक मन्दी र तरल राजनीतिक अवस्थाका बाबजूद पनि अबलोकनकर्ताहरुको घुँइचो बढेकाले आफूहरु उत्साहित भएको फ्यानका बरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङले बताए । मेलाको स्थान गत वर्षको भन्दा फराकिलो र थप व्यवस्थित भएकाले पनि अवलोकनकर्ता सन्तुष्ट भएको उनको भनाइ छ ।

मेलामा व्यवसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ५, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल २ गरी जम्मा ९० वटा प्रदर्शनी कक्षहरु राखिएका थिए । विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गरिएको थियो ।

प्रदर्शनीमा पुरस्कृत हुनेमा प्रथम सम्झना नर्शरी, दोस्रो माइ नर्शरी र तेस्रो आजिमा नर्शरी रहेका छन् । त्यसैगरी उत्कृट क्याटेगोरी अन्तर्गत बेष्ट रिफ्लेक्समा माइ नर्शरी, वेष्ट मिनियचनर सम्झना नर्शरी, बेष्ट इन्कर्भमा आजिमा नर्शरी, बेष्ट मेन्टेलेन्समा सम्झना नर्शरी, बेष्ट कट् फ्लावरमा नव सेवा नर्शरी र बेष्ट स्टलमा दिक्षा नर्शरीले उत्कृष्ट पुरस्कार पाएका छन् ।

नेपालमा बि.सं.२०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको ईतिहास रहेको छ । यस पछि पुष्प व्यवसायले बिस्तारै गति लिएको थियो ।

पुष्प क्षेत्रमा एक हजार २३५ भन्दा बढि पुष्प व्यवसायीहरु संलग्न रहि व्यवसाय गरिरहेको अवस्था छ भने पुष्प व्यवसायमा अनुमानित लगानी रु.८ अर्व ८३ करोड भन्दा बढि रहेको छ ।

भन्सार बिभागको तथ्याङ्क अनुसार आ.ब. ०८०÷८१ को तुलनामा आर्थिक बर्ष ०८१÷८२ मा ५४.२७% ले आयात कारोबारमा कमी आई पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक आयात कारोबार रु.१२ करोड ७० लाख ८९ हजार रहेको छ ।

 

 

 

 

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *