रामकुमारी झाँक्रीको घोषणा: “एकीकृत समाजवादीसँगको अध्याय सकियो”
काठमाडौँ, मंसिर १९ — नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री ले आफ्नो राजनीतिक यात्रा अब उक्त पार्टीसँग टुंगिएको घोषणा गरेकी छन्।
बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेतृ झाँक्रीले पार्टी आज दिउँसो १ बजेबाट औपचारिक रूपमा विघटन हुने तयारीमा रहेको बताउँदै भनिन्, “उक्त पार्टीसँगको यात्रा र अध्याय सकियो। अहिले यही हाम्रो पजको अवस्था हो।”
झाँक्रीले हालको राजनीतिक घटनाक्रमले दलहरूभित्रको लोकतन्त्र र जनप्रतिनिधित्वप्रति गम्भीर प्रश्न उठाएको बताइन्। उनले भनिन्, “जेनजी आन्दोलनपछि देशको लोकतन्त्रको प्रत्याभूति र शान्ति–सुरक्षाका लागि राजनीतिक दलहरूलाई नै जिम्मेवार बनाउनु जरुरी छ।”
उनका अनुसार, एमाले र माओवादी मिलेर नेकपा बनेको समयदेखि नै दलभित्रको लोकतान्त्रिक संस्कार कमजोर बन्दै गएको हो। उनले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच हुँदै गरेको नयाँ एकता प्रक्रियाले पनि लोकतन्त्रलाई थप कमजोर पार्ने जोखिम रहेको दाबी गरिन्।
यसैबीच, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित नौ दलबीच आजै एकता घोषणा हुने तयारी भएको छ। नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने बताइएको छ।
