जुद्ध बारुण यन्त्र कार्यालय सवलीकरण र भूमिगत फायर ड्राइराइजर कार्यको अनुगमन

 जुद्ध बारुण यन्त्र कार्यालय सवलीकरण र भूमिगत फायर ड्राइराइजर कार्यको अनुगमन

मंसिर ४, २०८२ काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले वडा नं. २३ ले गरिरहेको जुद्ध बारुण यन्त्र कार्यालयको सवलीकरण (रेक्टोफिटिङ् एण्ड मेन्टिनेन्स) र वडा नम्बर २६ मा जडान गरिएको अण्डरग्राउण्ड फायर ड्राइराइजर कार्यको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा निर्माण प्रक्रिया, निर्माण सामग्री र शैलीलगायत प्राविधिक र गुणस्तरको पक्ष हेरिएको थियो । बारुण यन्त्र कार्यालयको शैली, तत्कालीन निर्माण सामग्री जस्ता पक्षमा जानकारी लिएपछि समितिका संयोजक एवं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले, निर्माण कार्य गर्ने पक्षले मापदण्ड र प्रक्रिया पालना गर्ने हो भने अनुगमन कार्यबाट डराउनु नपर्ने बताउनुभयो ।

अनुगमनमा टोलीँ आउनुलााई कारवाही जस्तो मान्नु हुँदैन । यो सुधार गर्ने अवसर दिने संयन्त्र पनि हो ।’ उहाँले भन्नुभयो, ‘अनुगमनको त्रास त गलत नियत राख्नेहरुलाई मात्र हुन्छ । विधि, प्रक्रिया र मापदण्डको पूर्ण पालना गर्नेका लागि अनुगमन आफ्नो क्षमता देखाउने अवसर हो ।’

‘महानगरपालिका काठमाडौँको प्राचीनता खोजी रहेको छ । सहरको यो पक्ष प्राप्त गर्न सबैको साथ र सहयोग आवश्यक छ । अझ भौतिक संरचना निर्माण कार्य गर्नेले त झन सहयोग गर्न आवश्यक छ ।

उहाँले भन्नुभयो, ‘हरेक विषयमा पक्ष र विपक्षका मत हुन्छन् । दुवै मत सुनेर दुवैलाई चित्त बुझ्ने निर्णयको प्रयासमा केही समय लाग्न सक्छ । यसबाहेक महानगरपालिकाले मौलिक निर्माण सामग्री, शैली र शिल्पको उपयोग गरेर आधुनिक सुविधा वितरणमा नियमित काम गरिरहेको छ ।’

त्यस क्रममा वडाध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले, वडाभित्रका सम्पदाहरुमा प्रयोग गरिएको आधुनिक निर्माण सामग्री तथा बस्तु हटाएर मौलिक सामग्रीले पुनःस्थापना गर्ने क्रममा रहेको बताउनुभयो । ‘यसै क्रममा हामीले वडाकै बजेटबाट राणाकालीन भवनलाई पूर्ववत् सवलीकरण गराएका हौँ ।’ महर्जनको भनाइ छ ।

राणा प्रधानमन्त्री जुद्ध शम्शेरको शासनकाल वि. सं. १९९४ सालतिर निर्माण भएको यो भवनमा अग्नि नियन्त्रण कार्यालयको स्थापना भएको हो ।

त्यसबेलाको आधुनिक अग्नि नियन्त्रण कार्यालय नै यही थियो । राणा वास्तुकलामा आधारित भवन चुना सुर्कीको प्रयोग गरेर बनाइएको हो । मोटो पर्खाल, ठुला झ्यालढोका भवनको संरचनागत विशेषता हो । यसको पुनःनिर्माण कार्यमा भवनको पुरानो शैली नबिगारी, नहटाइ, परम्परागत ईंटा, चुन–सुर्की, माटो र काठको प्रयोग गरिएको छ ।

अग्नि–नियन्त्रणका लागि साधन तथा उपकरण राख्न ठुलो कोठा बनाइएका छन् । आपतकालीन सेवाका लागि बस्ने ठाउँ हुनेछ । पुराना दमकल गाडी राख्ने छुट्टै कक्ष निर्माण भएका छन् ।

०७२ को महाभूकम्पले भवनको संरचना कमजोर भएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट ७२ लाख ९८ हजार रुपियाँ लागतमा ०८२ जेठ २९ गतेबाट सवलीकरण थालिएको हो । इन्द्रदह निर्माण सेवाले जिम्मा पाएको यो काम २०८३ जेठ १ गतेसम्ममा सम्पन्न हुनेछ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *