कृषि विकास बैंक र बिट्स क्राफ्टबीच सम्झौता: अब क्युआर भुक्तानीमा ‘कोइली’ले बोलेरै जानकारी दिने
काठमाडौँ । कृषि विकास बैंक लिमिटेड र बिट्स क्राफ्ट (Bits Kraft Pvt. Ltd.) बीच बैंकका Nepal Pay तथा Fonepay QR प्रयोगकर्ताहरूलाई “कोइली” (Koili) नामक अडियो क्युआर मेसिन उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता भएको छ ।
पछिल्लो समय डिजिटल भुक्तानीको लोकप्रियता बढ्दै गएसँगै, भुक्तानी प्रक्रियालाई थप सुरक्षित र भरपर्दो बनाउन बैंकले यो नयाँ प्रविधि भित्र्याएको हो ।
के हो ‘कोइली’ अडियो क्युआर मेसिन?
‘कोइली’ एउटा यस्तो स्मार्ट डिभाइस हो जसले ग्राहकले क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा प्राप्त भएको रकमलाई मानव आवाज (Audio) मा बोलेर जानकारी दिन्छ ।
यसका मुख्य विशेषताहरू: तत्काल सुनिने सूचना: मर्चेन्टले ग्राहकबाट कति रकम प्राप्त गरे भन्ने कुरा मेसिनले बोलेर सुनाउने हुँदा मोबाइल चेक गरिरहनुपर्ने झन्झट हट्नेछ । दुवै पक्षलाई सहज: भुक्तानी पाउने मर्चेन्ट र भुक्तानी गर्ने ग्राहक दुवैले कति रकम लेनदेन भयो भन्ने कुरा सुनेर तत्कालै एकिन गर्न सक्नेछन् ।
यसले डिजिटल भुक्तानीमा हुन सक्ने सम्भावित झुटा सूचना वा प्राविधिक अन्योललाई कम गरी कारोबारमा थप पारदर्शिता ल्याउने विश्वास गरिएको छ ।
सम्झौता पत्रमा कृषि विकास बैंकको तर्फबाट सुशिल हुमागाईं र बिट्स क्राफ्टको तर्फबाट केशब बस्नेतले हस्ताक्षर गर्नुभएको थियो ।
कार्यक्रममा बैंकको मार्केटिङ एण्ड सेल्स विभागकी विभागीय प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुख अन्जु दहाल, व्यवसाय अधिकृत मणिराज ढुङ्गानाका साथै बिट्स क्राफ्टका तर्फबाट प्रमोद सुवेदी लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
