अमेरिकाबाट ९१ नेपाली निष्कासन, चार्टर विमानमार्फत स्वदेश फिर्ता

 अमेरिकाबाट ९१ नेपाली निष्कासन, चार्टर विमानमार्फत स्वदेश फिर्ता

काठमाडौं । अमेरिकाले एकैदिन डिपोर्ट (निष्कासन) गरेका ९१ जना नेपाली काठमाडौं आइपुगेका छन् । अमेरिकाले उनीहरूलाई चार्टर विमानमार्फत काठमाडौं ल्याएर छाडेको हो ।

डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति भएपछि यसअघि एकैदिन यति ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरिएको थिएन ।

वरिष्ठ अध्यागमनका अनुसार अमेरिकाबाट डिपोर्ट भएका ९१ जना नेपाली सोमबार (माघ ५) काठमाडौं आइपुगेका थिए ।

यसअघि अमेरिकाले डिपोर्ट गरी पठाएका ७५ जना नेपाली पुस ३ गते काठमाडौं आइपुगेका थिए । उनीहरूलाई पनि अमेरिकाले चार्टर विमानमा राखी पठाएको थियो ।

गत भदौ १९ गते अमेरिकाले यसैगरी एकैदिन ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरेको थियो । सो दिन अमेरिकाले चाटर्ड विमान राखेर ३७ जना नेपालीलाई पठाएको थियो ।

त्यस्तै, जेठ २५ गते पनि एकसाथ डिपोर्ट गरी पठाएका ३७ जना नेपाली काठमाडौं आइपुगेका थिए । उनीहरूलाई पनि अमेरिकाले चार्टर विमानमा नेपाल पठाएको थियो ।

अमेरिकामा बस्न कानुनी आधार स्थापित नगर्ने नेपाली नागरिकलाई डिपोर्ट गरिएको अमेरिकाले जनाउँदै आएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट भएका नेपाली काठमाडौं आउनुभन्दा केही दिनअघि त्यसबारे अध्यागमन विभागलाई जानकारी दिनेगरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिएको छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *