निर्वाचन सफल बनाउन सरकार केन्द्रित छ, पर्यटनलाई उद्योग सरहको सुविधा दिने प्रतिबद्धता पूरा गर्छौँ : अर्थमन्त्री खनाल
काठमाडौँ । काठमाडौँ मा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ मा अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचनका लागि सरकारले स्रोतसाधनको कुनै कमी हुन नदिने दृढता व्यक्त गरेका छन्। फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा मन्त्री खनालको यो भनाइले निर्वाचनको सुनिश्चितता र सरकारको तयारीलाई स्पष्ट पारेको छ।
अर्थमन्त्री खनालले वर्तमान सरकारको मुख्य ध्यान निर्वाचनलाई निष्पक्ष र सफल बनाउनेतर्फ केन्द्रित रहेको बताएका छन्।
निर्वाचनका लागि आवश्यक पर्ने बजेट, जनशक्ति र भौतिक स्रोतसाधनमा कुनै अवरोध नहुने उनले विश्वास दिलाएका छन।
अब मुलुकलाई राजनीतिक अस्थिरताको बहसबाट बाहिर निकालेर आर्थिक समृद्धितर्फ डोर्याउनुपर्ने र त्यो नै सरकारको सबैभन्दा ठूलो चुनौती रहेको उनको भनाइ थियो।
अघिल्लो सरकारले पर्यटनलाई उद्योगसरह सुविधा दिने गरेको प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै उनले वर्तमान सरकारले यसलाई अघि बढाउने संकेत गरे।
अर्थतन्त्रको उन्नयनका लागि सरकारले विभिन्न नीतिगत कार्यहरू गरिरहेको उनले जानकारी दिए।
