रास्वपाका दुई ठूला चुनावी सभा स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा आयोजन गर्न लागेको चुनावी सभा स्थगित गरेको छ।
यही फागुन ९ गते भैरहवा र फागुन १० गते पोखरामा गर्न लागिएको चुनावी सभा स्थगित गरिएको पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् ।
उक्त स्थानका सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साले सम्बोधन गर्ने तालिका थियो । तर विशेष कारणले ती दुवै स्थानको सभा हाललाई स्थगित गरिएको रावलले बताइन् । तर उनले के कारणले ती दुई स्थानको सभा स्थगित गरिएको हो खुलाएकी छैनन् ।
बुधबार र बिहीबार रास्वपाले धनगढी र सुर्खेतको वीरेन्द्रनगरमा चुनावी सभा गरिसकेको छ। सुर्खेतको चुनावी सभामा सहभागी भएपछि रास्वपा वरिष्ठ नेता साह बिरामी भएर काठमाडौं फर्किएका छन् ।
उता सभापति लामिछाने भने सुर्खेतबाट बाँके हुँदै दाङतिर चुनावी अभियान लिएर पुगेका छन् । उनी बिहीबार राति दाङको तुलसीपुरमा पुगेका थिए ।
त्यहाँ सभापति लामिछानेको स्वागत गर्न बसेका रास्वपाका कार्यकर्ताहरूले एमालेको झण्डा जलाएपछि तनाव भइरहहेको छ।
