युवा विदेशिनु साझा चिन्ताको विषय, शिक्षालाई उद्यमसँग जोडौँ : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा प्रणालीलाई केवल औपचारिक प्रमाणपत्र वितरण गर्ने माध्यममा मात्र सीमित नगर्न आग्रह गरेकी छन्। पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपाली शिक्षालाई ‘व्यवहार र उद्यमशीलता’ सँग जोड्न नयाँ मार्गचित्र प्रस्तुत गरेकी हुन्।
समारोहका ६ हजार ६ सय २२ दीक्षित विद्यार्थीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्, ‘तपाईँहरूले हातमा लिएको यो प्रमाणपत्र रोजगारीको आधार मात्र होइन, यो नेपाली समाज र राष्ट्रका जटिल समस्या पहिचान गरी तिनका दीर्घकालीन समाधान खोज्न सक्ने क्षमताको प्रतीक हुनुपर्छ।’ उनले शिक्षालाई समाजको आवश्यकता अनुसार सीप, रोजगारी, उद्यमशीलता र नवप्रवर्तनतर्फ उन्मुख गराउनुपर्नेमा जोड दिइन्।
मुलुकको जल्दोबल्दो समस्याको रूपमा रहेको युवा पलायनलाई प्रधानमन्त्रीले ‘साझा चिन्ताको विषय’ बताएकी छन्। स्नातक वा स्नातकोत्तर पूरा गर्नासाथ युवाको ध्यान विदेशतर्फ जानु शिक्षा र राज्यको संरचनाको कमजोरी भएको स्वीकार गर्दै उनले भनिन्— ‘शिक्षालाई आर्थिक समृद्धि र मानव कल्याणसँग जोड्न नसकिए ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन हुन्छ।’
प्रधानमन्त्री कार्कीले विश्वविद्यालयहरूलाई परम्परागत शिक्षण पद्धतिबाट माथि उठेर नवीन प्रविधि र अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा केन्द्रित हुन निर्देशन दिइन्। विश्व बजारको प्रतिस्पर्धामा खरो उत्रन सक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालय र विद्यार्थी दुवैले विशेष मेहनत गर्नुपर्ने उनको तर्क थियो।
