विमानस्थल प्रहरीद्वारा ११ किलो लागुऔषधसहित भारतीय गिरोह सार्वजनिक
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले गाँजा तस्करीको एक नयाँ शैली फेला पारेको छ। थाइल्याण्डबाट मलेसिया हुँदै काठमाडौँ ल्याइएको ११ किलो दुई सय ७० ग्राम गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ परेसँगै यो गिरोहको पर्दाफास भएको हो।
विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले शुक्रबार ४३ वर्षीया समीना अख्तर बेग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद र ४४ वर्षीया अफसाना शेखलाई पक्राउ गरेको हो। मिर्जा र जुनैदको साथबाट ३ किलो ८७० ग्राम र शेखको साथबाट ७ किलो ४०० ग्राम गाँजा बरामद भएको विमानस्थल प्रहरीका प्रवक्ता एसपी राजकुमार सिलवालले जानकारी दिएका छन।
प्रहरीका अनुसार यो गिरोहले सुरक्षाकर्मीलाई झुक्याउन अत्यन्त चलाखीपूर्ण शैली अपनाएको थियो। गाँजा थाइल्याण्डबाट मलेसिया हुँदै काठमाडौँ आइपुगेको थियो। तर, यसलाई लिन आउने भारतीयहरू भने नयाँ दिल्लीबाट एयर इन्डिया वा इन्डिगोको नियमित उडानमार्फत काठमाडौँ उत्रिएका थिए।
‘दिल्लीबाट आएका यात्रुहरूमाथि प्रहरीले सामान्यतया लागूऔषधमा निगरानी कम गर्छ भन्ने सोचले उनीहरू दिल्लीबाट आएका थिए,’ एसपी सिलवालले भने, ‘तर उनीहरू मलेसियाबाट आएको शंकास्पद लगेज लिएर विमानस्थलबाट बाहिरिन लाग्दा पक्राउ परेका हुन्।
विमानस्थलमा गाँजा तस्करीको यो शृङ्खला नयाँ भने होइन। चार दिनअघि मात्रै यसै गरी मलेसियाबाट तस्करी गरिएको गाँजासहित अन्य चार भारतीय नागरिक समातिएका थिए। पछिल्लो समय थाइल्याण्डमा गाँजाले कानुनी मान्यता पाएपछि त्यहाँबाट नेपाललाई ुट्रान्जिटु बनाएर भारततर्फ तस्करी गर्ने गिरोह सक्रिय देखिएको प्रहरीको विश्लेषण छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको छ।
