भयको राजनीति गर्दैनौं, शान्तिपूर्ण निर्वाचन चाहिन्छ : कांग्रेस

 भयको राजनीति गर्दैनौं, शान्तिपूर्ण निर्वाचन चाहिन्छ : कांग्रेस

काठमाडौं। नेपाली कांग्रेस का प्रवक्ता देवराज चालिसेले कांग्रेस उम्मेदवारमाथि दुर्व्यवहार र आक्रमणका घटना भइरहेको आरोप लगाउँदै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेका छन्।

आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा कांग्रेस उम्मेदवारलाई अपमान र दुर्व्यवहार गर्ने क्रम बढेको बताएका हुन्।

“निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारमाथि दुर्व्यवहार हुनु दुःखद् हो। यस्तो गतिविधि तुरुन्त बन्द हुनुपर्छ,” चालिसेले भने।

उनले सरकारलाई निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको वातावरण सुनिश्चित गर्न आग्रह गर्दै कांग्रेसले हालसम्म निर्वाचन प्रक्रियामाथि कुनै शंका नगरेको स्पष्ट पारे। साथै कांग्रेसले भयको राजनीति नगर्ने र दृढतापूर्वक चुनावी अभियानमा लागिरहने बताए।

निर्वाचनको माहोलमा धार्मिक सद्भाव बिगार्ने गतिविधि नगर्न उनले सबै पक्षलाई सचेत गराउँदै व्यक्तिगत गालीगलौज र पार्टीका झण्डा जलाउने कार्य निन्दनीय भएको बताए। दाङको तुलसीपुरमा एमालेको झण्डा जलाइएको घटनाको पनि कांग्रेसले निन्दा गरेको उनले जानकारी दिए।

पत्रकार सम्मेलनमा चालिसेले नेपाली कांग्रेसप्रति जनआकर्षण बढ्दै गएको दाबी गर्दै अन्य दलमा आबद्ध वा पार्टी छाडेका नेताकार्यकर्तालाई कांग्रेसमा फर्किन आह्वान गरे।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *