होलीमा मञ्च र सांगीतिक कार्यक्रम गर्न नपाइने
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्षको होली पर्वमा मञ्च बनाएर सांगीतिक कार्यक्रम तथा मेला–महोत्सव आयोजना गर्न रोक लगाएको छ। निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिएका छन्।
कार्यालयद्वारा जारी सूचनामा खुला सडक तथा सार्वजनिक स्थानमा भेला भई भिड जम्मा गर्ने, मेला–महोत्सव गर्ने, मञ्च निर्माण गरी सांगीतिक कार्यक्रम सञ्चालन गर्ने तथा मादक पदार्थको बिक्री–वितरण र सेवन गर्ने जस्ता गतिविधि नगर्न अनुरोध गरिएको छ। साथै निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि गतिविधि नगर्न–नगराउन सचेत गराइएको छ।
होली पर्वको नाममा चुनावी प्रचार हुन सक्ने आशंकाका कारण प्रशासनले विशेष कडाइ गरेको जनाएको छ। निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट वा झोला प्रयोग गर्न नहुने स्मरण गराइएको छ। विशेष गरी उम्मेदवारको तस्वीर वा निर्वाचन चिह्न अंकित कपडाको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ।
त्यसैगरी, होलीलाई मर्यादित र सुरक्षित बनाउन कसैको इच्छा विपरीत रंग–अबिर दल्ने वा लोला हान्ने कार्यसमेत निषेध गरिएको प्रशासनले जनाएको छ।
