नयाँ संसद् भवनमा प्रत्येक सांसदलाई व्यक्तिगत ‘चेम्बर’
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ कार्यक्रमलाई लक्षित गर्दै तयारी तीव्र पारेको छ ।
चैत ५ गते जारी सूचनामार्फत सचिवालयले सबै निर्वाचित सांसदलाई शपथ समारोहमा सहभागी हुन आह्वान गरिसकेको छ। निर्धारित कार्यक्रमअनुसार चैत १२ गते अपराह्न २ बजे शपथ समारोह आयोजना हुनेछ। सांसदहरूलाई समयभन्दा दुई घण्टा अगावै औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन अनुरोध गरिएको छ।
त्यसअघि रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई चैत ११ गते शीतल निवासमा पदको शपथ गराउने कार्यक्रम छ। त्यसपछि केसीले नै चैत १२ गते अन्य सांसदलाई शपथ गराउनेछन्।
नेपालको संविधानको धारा ८८ ले सांसदले पहिलो बैठकअघि अनिवार्य रूपमा शपथ लिनुपर्ने व्यवस्था गरेको छ भने धारा ९१(५) ले सभामुख र उपसभामुखको अभावमा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने प्रावधान सुनिश्चित गरेको छ।
शपथपछि सांसदहरूलाई लोगो, संविधान, नियमावली तथा सेवा–सुविधासम्बन्धी सामग्री उपलब्ध गराइनेछ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार तत्कालको लागि सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा संसदको शपथ ग्रहण तथा प्रारम्भिक बैठक गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको छ।
नयाँ संसद् भवनको निर्माण सम्पन्न भएपछि प्रत्येक सांसदका लागि छुट्टाछुट्टै ‘चेम्बर’को व्यवस्था गरिने र सबै दलका कार्यालय पनि एउटै परिसरभित्र व्यवस्थित गरिने योजना रहेको संसद सचिवालयले जनाएको छ ।
सचिवालयले निर्वाचनपछिको नयाँ शक्ति सन्तुलनअनुसार संसदीय दलका कार्यालयहरू अस्थायी रूपमा व्यवस्थापन गरेको जनाएको छ।
