सेजनमा नयाँ नेतृत्व, अध्यक्षमा भट्टराई निर्वाचित

काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ साधारणसभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
अध्यक्षमा सेतोपाटी डटकमका भागवत भट्टराई ११० मत प्राप्त गर्दै निर्वाचित भए । उनका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ र आशा थपलियाले ४१ मत पाए ।
उपाध्यक्षमा कारोबार दैनिकका जीवन बस्नेत निर्विरोध चयन भए भने महासचिवमा राष्ट्रिय समाचार समितिका उपसम्पादक कमलकुमार बस्नेत १३९ मतसहित विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी अनलाइनखबरका अच्युत पुरीले १०४ मत ल्याए ।
कोषाध्यक्षमा उकालो डटकमकी केशु लामिछाने १३३ मतसहित निर्वाचित भइन् भने अन्नपूर्ण दैनिककी ममता थापा १०८ मतमा सीमित रहिन् । सचिवमा हिमालयन टेलिभिजनका शङ्कर पण्डित निर्विरोध बने । त्यस्तै, सदस्यमा अर्जुन तामाङ (१४१), कमल धिताल (१८५), भोजराज भण्डारी (१४७), राजु बास्कोटा (१५९) र सीमा तामाङ (२००) मतसहित विजयी भए ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत धर्मेन्द्र झाले प्रमाणपत्र वितरण गर्दै सेजनको गरिमा थप उचो बनाउन आग्रह गरे ।
उनले आर्थिक पत्रकारिताको महत्व बढ्दै गएको भन्दै पत्रकारको क्षमता अभिवृद्धि, आर्थिक सवालको उठान र तथ्य उजागर गर्नुपर्नेमा जोड दिए । सेजनमा आर्थिक पत्रकारितामा संलग्न २६६ सदस्यमध्ये २४६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।