नवजात शिशुको मृत्युदर २१ बाट १७ मा झर्यो, सुदूरपश्चिममा अझै चुनौती

 नवजात शिशुको मृत्युदर २१ बाट १७ मा झर्यो,  सुदूरपश्चिममा अझै चुनौती

काठमाडौँ । नेपालमा नवजात शिशुको मृत्युदरमा पछिल्लो समय उत्साहजनक सुधार आएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१र८२’ ले ८ वर्षदेखि स्थिर रहेको मृत्युदरमा गिरावट आएको देखाएको हो।

प्रतिवेदन अनुसार, हाल नेपालमा प्रति एक हजार जीवित जन्ममा १७ जना नवजात शिशुको मृत्यु हुने गरेको छ। यसअघि सन् २०१६ र सन् २०२२ को जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा यो सङ्ख्या २१ मा स्थिर थियो।

सर्वेक्षणले भौगोलिक क्षेत्रका आधारमा मृत्युदरमा केही भिन्नता देखाएको छ। ग्रामीण क्षेत्रमा नवजात शिशुको मृत्युदर १९ रहेको छ भने सहरी क्षेत्रमा यो सङ्ख्या १६ छ। सन् २०२२ को तुलनामा दुवै क्षेत्रमा उल्लेख्य सुधार आएको देखिन्छ, जतिबेला ग्रामीण क्षेत्रमा मृत्युदर २५ र सहरमा १९ थियो।

प्रदेशगत अवस्था: बागमती उत्कृष्ट, सुदूरपश्चिममा चुनौती प्रदेशगत तथ्याङ्क हेर्दा बागमती प्रदेशले सबैभन्दा राम्रो प्रगति गरेको छ भने सुदूरपश्चिममा अझै ठुलो चुनौती देखिएको छ ।

बागमती प्रदेश: १० (सबैभन्दा कम मृत्युदर)

कोशी र गण्डकी: १४

लुम्बिनी: १६

मधेश: २०

कर्णाली: २२

सुदूरपश्चिम: २६ (सबैभन्दा बढी मृत्युदर)

मृत्युको मुख्य कारणस् संक्रमण र घरमै सुत्केरी अध्ययनका अनुसार नेपालमा नवजात शिशुको ज्यान जानुको मुख्य कारण संक्रमण पाइएको छ। अझै पनि धेरै महिलाहरू स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर रहेर घरमै सुत्केरी हुने भएकाले संक्रमणको जोखिम उच्च रहेको हो। यसबाहेक जन्मँदा कम तौल हुनु, श्वास फेर्न कठिनाइ (निस्सासिनु), सिताङ्ग हुनु र समयअघि नै शिशु जन्मिने कारणले पनि मृत्युदर बढेको देखिन्छ।

नेपाल दिगो विकास लक्ष्य नजिक नेपालले दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा नवजात शिशु मृत्युदरलाई प्रति हजार जीवित जन्ममा १६ मा झार्ने संशोधित लक्ष्य राखेको छ। वर्तमान तथ्याङ्क (१७) लाई हेर्दा नेपाल आफ्नो लक्ष्य भेट्टाउन निकै नजिक पुगेको देखिन्छ।

के हो नवजात शिशु?

जन्मेको २८ दिन भित्रका बच्चालाई नवजात शिशु भनिन्छ। नेपालमा २८ दिनभन्दा माथिका शिशुको मृत्युदर प्रति हजार १० रहेको छ, जसलाई जोड्दा समग्र शिशु मृत्युदर २७ पुग्ने तथ्याङ्कले देखाएको छ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *